Tuesday, April 15, 2014

तिमी, प्रेम, प्रज्ञान र प्रतीक्षा



प्रज्ञानको भावना-भाव तीब्र
जुनेली खुलेको आत्मा पवित्र
तिमीमा ऋक् वेदको नव्य बोली
तिमी प्रेम-आनन्दकी दिव्य झोली
।।
नदीझैँ बजेको छताछुल्ल नाद
तिम्रो गलामा अनौठो प्रमाद
तिमी फूलबारी तिमी फूलदानी
तिमी प्रेमले प्रेमकी हौ बिहानी
।।
तिमी सत्यकी कोपिला कोमला हौ
तिमी सिर्जनाकी कुमारी कला हौ
तिमी स्वच्छ सौन्दर्यकी एक सृष्टि
तिमी हौ सुधा दृश्य, द्रष्टा र दृष्टि
।।
सुदन्ती तिमी वैजयन्ती वहार
तिमी शीतकी दिव्य थोपा अपार
शुभाङ्गी चरी कोइली बोल थोर
प्रतीक्षा गरी बस्छ है यो चकोर
।।


नरेन्द्र पराशर
छन्द : भुजङ्गप्रयात

No comments:

Post a Comment